समाजिक जीवन

बालक राजाराम वि.सं. २०५७ सालमा हिन्दू स्वयंसेवक संघका तत्कालिन राष्ट्रिय प्रचारक माननीय श्री सुवेदार सिंहज्यूको स्वधर्म संस्कृति संरक्षण विषयक बौद्धिक सत्रले प्रभावित भई संघको शाखामा जान प्रारम्भ गर्यो  । वि.सं. २०६४ मा तत्कालिन पशुपति शिक्षा प्रसार समितिका संगठन मन्त्री श्री गोपाल यादव ज्यूको सहयोगमा बारा जिल्लाको कलैयामा आयोजित संघको २० दिवसीय संघ शिक्षा वर्ग (ओ.टि.सी. प्रथम वर्ष) गर्नुभयो ।

२०६५ सालमा उच्च शिक्षा हासिल गर्न काठमाण्डौ प्रवेश गरेको बेला डिल्ली बजार स्थित संघ कार्यालयमा विश्व संवाद केन्द्रको सहायकको रुपमा दायित्व प्राप्त गर्नु भयो । त्यस पश्चात काठमाण्डौ ज्ञानेश्वर स्थित नेपाल जनता पार्टीको राष्ट्रिय कार्यालयमा सह–सचिवको दायित्व प्राप्त गर्नु भयो ।

२०६६ सालमा भारतको उत्तर–प्रदेश, सुल्तानपुरमा आयोजित राष्ट्रिय स्वयंसेवक संघको २० दिवसीय संघ शिक्षा वर्ग (ओ.टि.सी.–द्वितिय वर्ष) गर्नुभयो । उक्त तालिममा राष्ट्रिय स्वयंसेवक संघका तत्कालिन सर–संघचालक माननीय मोहन राव भागवत ज्यूको विशेष उपस्थिति रहेको थियो ।

भारतबाट फर्के लगतै कपिलवस्तु जिल्लाका लागि हिन्दू स्वयंसेवक संघ नेपालको जिल्ला विस्तारकको रुपमा पठाईयो । २०६७ सालको अन्त्य तिर वहाँ वैवाहिक जीवनमा प्रवेश पश्चात संघको विस्तारकको दायित्वबाट मुक्त हुनु भयो ।

वि.सं. २०७१ सालमा संघका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश ज्यूको प्रेरणाले वहाँ पुनः विश्व संवाद केन्द्रमा पूर्णकालिकको दायित्व प्राप्त गर्नु भयो । २०७२ सालको विनाशकारी भूकम्पले चारैतिर तहस–नहस गरेको स्थिति थियो । भूकम्प पिडितलाई राहत वितरणको लागि संघ अग्रपंतिमा थियो । काठमाण्डौ गौरीघाट स्थित केशवधाममा भुकम्प पिडितको लागि कन्ट्रोल रुम स्थापना गरिएको थियो । भुकम्प पिडितको लागि स्थापना गरिएको कन्ट्रोल रुममा वहाँ पनि सक्रिय भूमिकामा हुनुहुन्थ्यो ।

विक्रम सम्वत् २०७३ सालमा विश्व हिन्दू परिषद नेपाल प्रभारी माननीय स्नेहपाल सिंहज्यूको प्रयासमा वहाँले परिषदको राष्ट्रिय कार्यालय प्रमुखको दायित्व प्राप्त गर्नु भयो । साल २०७४–०७५ मा जनकल्याण प्रतिष्ठानद्वारा प्रकाशित एकल समाचार मासिक पत्रिकाको सम्पादक समेत रहनु भयो ।



विक्रम सम्वत २०७६ मा माननीय स्नेहपाल सिंहज्यूको भारत–फिर्ती लगतै तत्कालिन परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारज्यूको कार्यकालमा वहाँ विश्व हिन्दू परिषद नेपालको प्रदेश नं. ३ को प्रदेश संगठन सचिवको दायित्वमा आउनु भयो ।

हिरासत/ प्रहरी नियन्त्रण 

विक्रम सम्बत २०६५ मा नेपालका तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा माओवादीहरुद्वारा भगवान पशुपतिनाथका भट्ट–पुजारीहरुमाथि सांघातिक आक्रमण गरिएको थियो । उक्त आक्रमणको विरुद्धमा काठमाण्डौमा संघ परिवार लगायतका संगठनहरुद्वारा व्यापक विरोध प्रदर्शन भएको थियो । सोही प्रदर्शनको क्रममा प्रधानमन्त्री, संस्कृति मन्त्री गोपाल किरातीको पुत्ला दहन एवं माओवादीका युवा दस्ता वाई.सि.एल संगको भिडन्तको क्रममा दुई पटक हिरासतमा पर्नु भएको थियो । वहाँलाई १५/१५ घण्टा काठमाण्डौ स्थित गौशाला प्रहरी विटमा नियन्त्रणमा राखिएको थियो ।

Post a Comment

0 Comments